2019-08-22

Close

रेनुका कार्की : नेपालको तराई, भित्री तराई र तल्लो पहाडी भेगमा हुने सजीवन(सहजन=Drumstick) एक परिचित तरकारी हो। विशेषगरि यो अलि गर्मी हुने ठाउँमा राम्रो भएको पाईन्छ।

किसानहरु प्राय गाउँमा घरको छेउछाउमा राम्रो हेरचाह बिना यसको खेती गर्छन् र हिउँदमा यसको फललाई तरकारीको रुपमा प्रयोग गर्छन् । यसको बैज्ञानिक नाम Moringa longifoliea हो र यो मोरोङ्गेसी परिवारको सदस्य हो ।

फाइदा र उपयोगीता: सजीवनको बीउ तेल निकाल्नुका साथै उमालेर सुकाइ पाउडर बनाई बिदेशमा बेच्न सकिन्छ । यसको सबै भाग एकदमै उपयोगी हुन्छ । भिटामिन बी, भिटामिन सी, प्रोटिन, लवणका साथसाथै उपयुुक्त मात्रामा फलाम तत्व पनि पाईन्छ। एक अध्ययन अनुसार यसमा दुधमा भन्दा चार गुणा बढी पोटासियम पाईन्छ जुन मानव शरीरमा हड्डी बिकासमा क्याल्सियम संगै उपयोगी मानिन्छ। विभिन्न(करिब ९०) रोगका विरुद्ध यो जैविक रुपमा प्रयोग गर्न सकिन्छ ।

यसको गुद निकालेर कागज उद्योगमा कागज बनाउन प्रयोग गर्न सकिन्छ । सजीवनलाई दक्षिण भारतमा प्रचलित साम्बर बनाउन बिशेश प्रयोग गरिन्छ ।

हावापानी: २५-३० डीग्री से. तापक्रम उत्तम मानिन्छ । यो भन्दा तलमाथि भएमा उत्पादनमा ह्रास आउँछ । फुल लाग्ने बेलामा ४० डिग्री से. भन्दा माथि भयो भने फुल झर्न थाल्छ त्यसैले सहजन लगाउदा सो उपयुक्त तापक्रम हुने ठाँउ छान्नुपर्छ । कम वा बढी बर्षाले त्यति असर नगर्ने हुनाले यो प्रतिकुल बर्षा(अतिबृश्टी, अल्पबृस्टी र अनाबृस्टी) हुने ठाउँमा लगाउन सकिन्छ ।

माटो: जुनसुकै खालको खाली, बांझो जमिनमा यसको खेती गर्न सकिन्छ । खासगरी पी. एच. ६-७.५ भएको दोमट बलौटे माटो सजीवनको व्यबसायिक खेतीका लागि उत्तम मानिन्छ ।

जातहरु: नेपालबाट यसका जातहरु सिफारिस नभएको अवस्थामा भारतिय जातहरु पी.के.एम. १, पी.के.एम. २, कोयम्बुटोर १ र कोयम्बुटोर २ को खेती लाभदायक हुन्छ ।

खाडलको तयारी: सामान्यतया २.५×२.५ मीटर दुरीको फरकमा ४.५×४.५×४.५ से.मी. भएको खाडल खन्नुपर्दछ। खाडलमा राम्रोसँग कुहिएको १० गोबर मल माटोसंग मिलाई पुरिन्छ । बिउ वा बेर्नाको आवश्यकता: ५०० ग्राम बीउ १ हेक्टरमा डोब्न वा बेर्ना बनाइ लगाउनको लागि प्रयाप्त हुन्छ । गोबर मलले भरिएको खाडलमा सिधै बीउ डोब्न सकिन्छ वा पोलीथिनमा बेर्ना उमारेर १ महिना पछि रोप्न पनि सकिन्छ । बेर्ना रोप्ने: पहिलेनै तयार भएको खाडलमा असार-श्रावण महिनामा रोपिन्छ । बेर्ना रोपेपछी बिरुवालाई असर नपर्ने मात्रामा पानी दिने ।

काटछाटँ: रोपेपछि जब बिरुवा ७५ से.मी. को हुन्छ माथिल्लो मुख्य काण्ड काटेर फाल्ने र दायाँबायाँ तर्फबाट हाँगाहरु बढ्न दिने ।

मलको व्यवस्थापन: बिरुवा रोपेको तीन महिनामा १०० ग्राम युरिया, १०० ग्राम सुपर फस्फेट र १०० ग्राम पोटास १५ के.जी. कुहिएको गोबर मल माटोमा मिलाएर दिनुपर्छ । र हरेक ३ महिनामा १०० ग्राम युरिया दिनुपर्छ । एजोस्प्रीलियम वा पी.एस.बी. ५ के.जी. प्रति हेक्टर हाल्नाले उत्पादन राम्रो भएको पाईन्छ ।

सिंचाइ: पानीबिना बाच्नसक्ने भए पनि राम्रो उत्पादनको लागि सिचाइ नितान्त आवश्यक हुन्छ । माटोको सुख्खापन हेरेर उपयुक्त मात्रामा खाडलको सिचाइ गर्नुपर्छ । फुललाग्ने समयमा न्यून वा अधिक(हिलो हुनेगरी) पानीले फुल झर्नलाई प्रोत्साहन गर्छ र यो अवस्था आउन नदिन पानीको मात्रा मिलाउनुपर्छ ।

किराबाट सुरक्षा: झिंगा वा पिल्लु किराको ठूलो आक्रमण र त्यसबाट हुने घाटा बचाउनको लागि डाईक्लोरोभास (नुभान) ०.५ मी.ली. प्रति लिटर पानीमा मिलाएर बिरुवामा छर्नाले लाभ लिन सकिन्छ ।

फल काट्ने र उत्पादन लिने: बर्षमा दुई पटक उत्पादन लिन सकिने सजीवनको फल माघ-फाल्गुन र श्रावण-भाद्र महिना टिप्न सकिन्छ । एक बोटबाट एक बर्षमा ४०-५० के. जी. सम्म उत्पादन लिन सकिन्छ । फलमा रेशा आउनुभन्दा पहिले टिप्नाले बजारमा समयमै र राम्रो मुल्य पाउन सकिन्छ ।

सामान्यतया फलको दर रु.३००-३५० प्रति के. जी. रहेको छ भने पात, काण्ड, फुल केही सस्तो रु.१५०-२०० प्रति के जी रहेको छ । अन्य खाद्यबालीलाई जस्तै व्यवस्थापन, संरक्षण र लगानी कम लाग्ने हुँदा यसको खेती कृषक दाजुभाइका लागि निकै उपयोगी हुन्छ । यदि सरकारी तवरबाट सजीवन विशेष कार्यक्रम अघि बढाएमा तरकारीको मागमा केही गिरावट हुनेछ र कृषकहरुले नि फाइदा लिन सक्नेछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com