2019-08-22

Close

काठमाडौ, बिमल नेपाल । भारतको पटनाबाट मोदी सीधै जनकपुर आउनुको कारण बाटो छोटो हुनु मात्रै होइन । संघीयतापछि पहिलोचोटि मधेसलाई टार्गेट बनाउनुको पछाडि धेरै सांकेतिक कारण छन् । जसको पुष्टि जनकपुरको सभामा देखिएको स्वतन्त्र मधेसको प्लेकार्ड र दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले गर्छ ।

त्यस्तै, आकार बिगारेर राखिएको नेपालको झण्डाले बिम्बात्मक ढंगमा राष्ट्रमाथि व्यंग्य गरेको छ । तर, अहिले देशप्रेमी भएर विरोध गर्नेहरूले यो कुरालाई गौण बनाएका छन् । बरु, मोदी र ओलीले पहिरिएको मैथिली सभ्यताको पहिरनलाई मूल मुद्दा बनाइरहेका छन् । एक जना पूर्वभाजपा सांसदले मिथिला क्षेत्र भारतको भनेर दिएको प्रतिक्रिया प्रगतिशीलहरूलाई खासै बिझेको छैन, जति मोदी आउँदा काठमाडौं सहर सफा गरेको विषयले मन कुँडिएको छ ।

दुई नम्बर प्रदेशका मुख्यमन्त्री र भारतीय सांसदले दिएको अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाइसकेको छ । सरकारको नेतृत्व गरिरहेको दल एमालेले पनि औपचारिक रूपमा आपत्ति जनाएको छ । तर, देशप्रेमी प्रगतिशीलहरूले फेसबुक स्टाटसमा केही लेखे पनि औपचारिक रूपमा विरोध गरेका छैनन् । यसले विषयलाई बुझ्न केही सहज बनाउँछ । प्रधान कुरालाई गौण बनाएर प्रगतिशीलहरूले प्रधान बनाएका केही प्राविधिक विषयमा कुरा गरौं ।

मोदीको पछिल्लो नेपाल भ्रमणले यसअघिका दुईवटा भ्रमणको जत्तिकै चर्चा र टिप्पणी पायो । मूलतः केपी ओलीको नियतसँग जोडेर मोदीको भ्रमणलाई हेरियो । केही टिप्पणी अतिरञ्जित भएको भ्रमणपछि पुष्टि भएको छ ।

यथार्थ धरातललाई ख्याल नगरी व्यापक आलोचना गर्ने नेपाली प्रवृत्ति कुनै नयाँ प्रयोग होइन । भारतीय प्रधानमन्त्रीले १७ वर्षदेखि नगरेको नेपाल भ्रमणलाई मोदीले नै ब्रेक लगाए । उनले नेपाल भ्रमणलाई निरन्तरता पनि दिए । यसलाई कूटनीतिक हिसाबमा नराम्रो मान्न सकिँदैन । तर, विश्वको शक्तिशालीमध्येको एउटा छिमेकी देशका कार्यकारी प्रमुखको भ्रमणलाई लिएर हुने गरेको सस्तो टिप्पणी हानिकारक हुन सक्ने खतरा छ । यसको अर्थ भारत वा मोदीप्रति नेपाल नतमस्तक हुनुपर्छ भन्ने होइन ।

सामरिक महŒवका हिसाबमा नेपालले दुई छिमेकी मुलुक चीन र भारतबाट यथेष्ट सहयोग लिन सक्नुपर्छ । दुई देशबीच समान सम्बन्ध स्थापित गर्नसक्ने कूटनीति हाम्रो नेतृत्वसँग हुनु आवश्यक छ । त्यसैले विषयको गाम्भीर्यतालाई नबुझी सस्तो प्रतिक्रियाले बजार पाउँदा कूटनीतिक सम्बन्धमा असर पार्नसक्नेतर्फ ‘प्रतिक्रियाधारी’हरू सचेत हुन आवश्यक थियो र छ ।

मोदीको नेपाल भ्रमण सन्दर्भमा नेपालका प्रधानमन्त्रीको ‘राष्ट्रवाद’सँग जोडेर ज्यादा टिप्पणी भयो । त्यस्तै, सहर सफा गरेको विषय होस् या जनकपुरमा मोदी–ओलीले पहिरिएको पहिरन, काठमाडौं महानगर र जनकपुरको साँचो हस्तान्तरणसँगै अरुण तेस्रोको शिलान्यासबारे कुरा उठे । धेरै मानिस अतिरञ्जित आलोचनाको पछि दौडिए पनि । तर, अतिरञ्जना र यथार्थबारे बुझ्ने प्रयास कम भयो ।

नेपालमा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गरिदियो । त्यतिबेला पनि ओली नै प्रधानमन्त्री थिए । ओलीले खुलेरै विरोध गरे । यसै कारण कतिपयले ओलीलाई ‘राष्ट्रवादी’ नेताको उपमा दिए । एमालेजनले खुलेर प्रशंसा गरे । विरोध गर्नेहरूले ‘खोक्रो राष्ट्रवाद’ भने । विरोध र प्रशंसा गर्ने दुवैले ओलीलाई ‘राष्ट्रवादी’ भन्ने गरेका छन् । नाकाबन्दीको विरोध गर्नु राष्ट्रवाद थियो कि थिएन ? थाहा छैन । तर, ओलीले नाकाबन्दीको विरोध गरेर गल्ती गरेका होइनन् । भारतले नाकाबन्दी गरेपछिको झोकमा चीनसँग व्यापार तथा पारवहन सन्धि भयो । जुन देशको हितमा थियो, छ ।

नाकाबन्दीपछि मोदीले नेपाल भ्रमण गर्दा पनि ओली प्रधानमन्त्री हुनु संयोग मात्रै हुन सक्छ । नहुन पनि सक्छ । नेपालको संविधानलाई स्वागत गर्नसमेत हिचकिचाएको भारतले अहिले प्रशंसा गरेको छ । कूटनीतिक हिसाबमा आफ्नो गल्तीलाई स्विकारेर अघि बढ्न खोजेको प्रस्ट देखिन्छ । ओलीलाई भारतमा गरिएको स्वागत र मोदीको नेपाल भ्रमण त्यसैको जल्दोबल्दो उदाहरण हो ।

हिजो नाकाबन्दीताका भारतको विरोध गरेका ओलीले अहिले मोदीलाई स्मरणीय हुने गरी सम्मान दिए । नेपालले मोदीको उच्च सम्मान गर्नुलाई धेरैले ‘लम्पसारवाद’को संज्ञा दिए । तर, छिमेकी देशको कार्यकारी प्रमुखले राजकीय भ्रमण गर्दा उच्चसम्मान गर्ने संस्कार नयाँ होइन । हिजो गल्ती गरेको बेला विरोध गर्नु र बदलिएको परिस्थितिअनुसार सम्मान गर्नु कूटनीतिक मर्यादा नै हो । हिजो भारतले नाकाबन्दी ग¥यो भनेर अहिले पनि सम्बन्ध बिगारिराख्नु कदापि देश हितमा हुँदैन । त्यसैले मोदीका लागि नेपालले उच्चसम्मान दिनु लम्पसारवाद हुँदै होइन । अनि, सम्मानसँग जोडेर राष्ट्रवाद फितलो भयो भन्नु लज्जाजनक टिप्पणी हो ।

भारतीय प्रधानमन्त्री आउने निश्चित भएपछि भ्रमणस्थलको व्यापक सरसफाइ भयो । विदेशी पाहुनाले प्रस्ट देख्ने ठाउँको सरसफाइ बढी गर्नुलाई नराम्रो मान्न सकिँँदैन । ‘पाहुना आउँदा मात्रै होइन, अघिपछि पनि सरसफाइ गर्नुपर्छ’ भन्ने तर्कमा दम छ । तर, त्यसो हुन नसकेपछि देखाउनकै लागि मात्रै भए पनि सरसफाइ गर्ने कुरालाई गलत भन्न सकिँदैन ।

जनकपुरमा मोदी र ओलीले एकै प्रकृतिको कपडा पहिरिएको विषयलाई पनि कोहीकोहीले आलोचनाको विषय बनाए । कतिपयले पाइजामा र कुर्तालाई भारतीय पोसाक पनि भने । तर, त्यो सस्तो टिप्पणी थियो । किनकि, नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई उपहारस्वरूप दिएको मैथिली पहिरन थियो, त्यो ।

काठमाडौं महानगरपालिका र जनकपुर उपहानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको भनेर पनि धेरै टिप्पणी भएको सुनियो । तर, त्यो महानगरको चाबी दिइएको थिएन । ‘तपाईंका लागि नेपाल भ्रमण खुला छ’ भनेर संकेतस्वरूप चाबीको नक्सा प्रदान गरिएको हो । मान्छेले ‘नगरपालिकाको ढुकुटीको चाबी नै जिम्मा लगाएको’ जसरी प्रतिक्रिया जनाए ।

संखुवासभामा बन्ने ९ सय मेगावाट विद्युत् क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने प्रयास यसअघि धेरै प्रधानमन्त्रीले गरे । भारतीय कम्पनीको लगानीमा बन्ने उक्त आयोजनाबाट नेपालले धेरै लाभ लिने जलविद्युत् क्षेत्रका जानकारहरूले नै वताउँदै आएका छन् । भारतलाई बिजुली बेच्ने गरी निर्माण गर्न लागिएको उक्त आयोजनालाई प्रदेश १ को समृद्धिको आधार भनिएको छ ।

उक्त आयोजनाबाट निस्कने बिजुलीको २२ प्रतिशत नेपालले निःशुल्क पाउनेछ । २५ वर्षे सम्झौताअनुसार नेपालले एक खर्ब ५५ अर्ब मूल्य बराबरको बिजुली निशुल्क पाउँछ । त्यस्तै १ खर्ब ७ अर्ब रुपैयाँ बराबर राजस्व पाउनेछ । यससँगै आयोजनाबाट नेपालले मनग्ये लाभ लिनसक्ने कुरा यसअघिका सरकारले पनि गर्दै आएका थिए । जुन काम मोदीको नेपाल भ्रमणका क्रममा भएको छ ।

हुन तः यस्ता गौरवको आयोजना नेपाल सरकारले आफ्नै लगानीमा गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर, सहयोगमा नै निर्माण गर्नुपर्ने अवस्थामा जुन सम्झौताका साथ अरुण तेस्रोको शिलान्यास भएको छ, त्यो खुशीको कुरा हो । बरु, आयोजना निर्माणको काम चाँडो सक्न दबाब दिनुपर्छ । अरुण तेस्रोको मामलामा भारतसँग भएको सम्झौता असअघिका सम्झौता जस्तो नहोस् !

जनकपुरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले नेपालको संविधानले आफूहरूलाई विभेद गरेको भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गुनासो पोखे । जनकपुरको सभामा स्वतन्त्र मधेसको व्यानर देखियो । साझा विवेकशील पार्टी कार्यालयबाट ‘मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल प्रहरी लगाएर हटाइयो । भारतीय सेनालाई नेपालमा खुलेआम प्रवेश दिइयो । अघिअघिजस्तै नेपाली सञ्चारमाध्यमलाई विभिन्न ठाउँमा प्रवेश निषेध गरियो । यी कुरा गलत थिए । जुन नभएको भए धेरै राम्रो हुन्थ्यो । तर, कुनै राष्ट्रघाती सम्झौताबिना सौहार्दपूर्ण ढंगमा मोदीको नेपाल भ्रमण सफल हुनु राम्रो कुरा हो ।

प्राविधिक कुरामा अल्झेर मूल मुद्दालाई ओझेल पार्ने फेसबुके विश्लेषकको बहकाबमा पछि लाग्नु बुद्धिमानीपूर्ण कुरा होइन । त्यसैले, यो सरकारले चीन र भारतसँग सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्यो भने त्यसैलाई गुणस्तरीय मान्नुपर्छ । राष्ट्रघाती सम्झौताको चाङले थिचिएका हामीले अहिले कुनै राष्ट्रहितविपरीत सम्झौता नहुनु र सम्बन्ध सुध्रनुलाई उपलब्धि मान्न सक्नुपर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com