2019-08-22

Close

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै कार्यकालमा तीनपटक नेपाल भ्रमण गरे । पहिलो भ्रमणमा संविधानसभामा मीठा भाषणले नेपालीलाई लट्ठै पारेका मोदीले त्यही संविधानसभाबाट जारी संविधानपछि नेपालीमाथि नाकाबन्दीको झड्का लगाइदिए ।

तेस्रोपटक भ्रमणमा आउँदा उनले तीनवटा अलगअलग तीर्थस्थलको दर्शन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लपक्कै टाँसिए । नेपालबिना भारतका धाम अधुरा, नेपालबिना भारतका राम अधुरा भन्दै तिमीबिना मरिहाल्छु शैलीमा प्रस्तुत भए ।

राष्ट्रिय सभागृहमा आफू अभिनन्दित भएपछि मोदीले निकै भावुक भएको भावमा शब्दमाधुर्यले नेपालीलाई लट्ठै पारे । उनले यहाँको कला, वास्तुकला र संस्कृतिको मात्रै चर्चा गरेनन्, प्रकृति र साहसको समेत प्रशंसा गरे ।

भक्तपुरको भव्यता, कीर्तिपुरको कला र ललितपुरको लालित्यको गीत गाए । नेपाल—भारत सम्बन्धलाई अन्नपूर्ण र धौलागिरीको शिर चढाए । नेपाल आफ्नै बलमा सगरमाथाको आधार शिविर पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासको चुचुरोमा पु¥याउन भारतीय काँध चाहिने कुरा अभिव्यक्त गरे ।

कूटनीतिमा मीठामीठा शब्दावलीको प्रयोग हुन्छन् । यी शब्दमाधुर्यको अर्थ खासै रहन्न । ती शब्दको भाव र लालित्यमा अल्झिनेहरु असली रुपमा कूटनीतिका सिकारु हुन् । मीठा शब्दका बीच पनि उनले दिन खोजेको खास सन्देश बुझ्न सक्ने हो भने यथार्थमा पुग्न सकिन्छ । मोदीले दोहो¥याई तेह¥याई भने, ‘नेपालको आफ्नै प्राथमिकतामा काम गरोस्, हामी साथ दिन्छौँ ।’ उनले यस अभिव्यक्तिमा निकै दबाब दिएका छन् र दोहो¥याएर भन्नुअघि उनले थप जोड दिए, ‘जिम्मेवार भएर भन्दै छु ।’

मोदीले ‘नेपालको आफ्नै प्राथमिकता’मा जोड दिनुको अर्थ हुन सक्छ, हामी अरु कसैको प्राथमिकतमा चलिरहेका छौँ । वास्तवमा भन्ने हो भने नेपाल यतिखेर आफ्नो प्राथमिकतामा चलिरहेको छैन भन्ने आभास भारतलाई भएको छ । भारतलाई यसो लाग्नु स्वाभाविक छ । किनभने, भारतको प्राथमिकतामा नेपाल चलेको छैन । भारतीय प्राथमिकतामा नचल्नु भनेको नेपाल अरु कसैको प्राथमिकतामा चलिरहेको छ भन्ने बुझाइ भारतीय रणनीतिकारहरुमा हुर्किएको छ ।

एउटा खुसीको कुरा के हो भने भारतीय रणनीतिकारहरुमा नेपाल पनि एउटा सामरिक महत्वको मुलुक हो भन्ने बुझाइ देखिन्छ । भारतीय प्रधानमन्त्रीको भ्रमण र नेपाललाई दिएको उच्च प्राथमिकताले पनि यो कुरा प्रस्ट हुन्छ । तर, साथसाथै नेपालले भारतबाहेक अन्य मुलुकको साथ र सहयोग नखोजोस् भन्ने पूरापूर अभीष्ट भारतीयहरुमा देखिन्छ । यो कुरा मोदीले प्रस्ट भाषामा भनेका पनि छन् । नेपाल अरुका प्राथमिकतामा नचलोस् भन्नुको सारभूत पक्ष नै यही हो ।

भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालले स्वतन्त्र र स्वाधीन मुलुकको हैसियतले चीनसँग रणनीतिक महत्वका समझदारी गर्न पुग्यो । हुन त यी समझदारी गर्न कुनै नाकाबन्दी पर्खनुपर्ने थिएन । यसका निम्ति केपी ओलीकै प्रधानमन्त्रित्व पनि कुर्नुपर्ने थिएन । र, संयोग के प¥यो भने भारतले नाकाबन्दी लगायो, त्यही बीचमा ओली प्रधानमन्त्री भए र पारवहनमा वैकल्पिक मार्ग खोजी हुँदा उत्तर मात्र विकल्प थियो । उत्तरमा चीन अवस्थित थियो । चीनले नेपालको आकांक्षामा साथ दियो । अझ भनौँ भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने सुविधाप्रति चीन सकारात्मक र इमानदार देखियो ।

फेरि चीन आन्तरिक रुपमा विकासको उत्कर्षमा पुगी बाह्य विश्वमा पाइला चाल्दै छ । संसारका शक्तिकेन्द्रहरुलाई टक्कर दिँदै छ । उसले उत्तर कोरिया र अमेरिकाबीचको आसन्न युद्ध र विध्वंशको प्रतिस्पर्धालाई अहिले नै साम्य पारी मित्रताका निम्ति तयार पार्दैछ । आफ्नो विकास र समृद्धिको साझेदार छिमेकी मुलुकहरुलाई पनि बनाउन खोज्दैछ ।

संसारको जुनकुनै भागको अभाव र अशान्तिले पनि अर्को जुनकुनै भागको समृद्धि र शान्ति भंग गर्न सक्छ भन्ने बुझेका चिनियाँहरुले छिमेकमा अभाव र अशान्ति हुर्काएर धेरै टाढा पुग्न सकिन्न भन्ने मन्त्रलाई आत्मसात् गरेका छन् । तसर्थ, छरछिमेकलाई पनि आफ्नो समृद्धिको मालामा उन्नका निम्ति वान बेल्ट वान रोड (ओबीओआर) वा बेल्ट र एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्तो महत्वाकांक्षी परियोजना अघि सारेको छ ।

बीआरईमा दक्षिण एसियाका सबैजसो मुलुक सामेल भइसक्दा पनि भारतले त्यसमा सहभागिता जनाएको छैन । बरु उल्टै भारतप्रति सदाशय राख्ने मुलुकहरुलाई पनि चीनसँग हिमचिम बढाउन नदिने नीति अख्तियार गरेको छ । नेपालले पनि बीआरआईमा सहभागिता नजनाओस् भन्ने प्रशस्त कामना भारतीयको देखिन्छ ।

मोदीले पराईको प्राथमिकतामा नेपाल नचलोस् भन्ने सन्देश दिनुको अर्थ पनि सायद यही हुनुपर्छ । किनकि, भारतीय बुझाइमा बीआरआई नेपालको आफ्नो प्राथमिकता हुन सक्दैन, चिनियाँ प्राथमिकता हो ।नेपालले उठाउँदै आएको नेपाल—चीन—भारत त्रिपक्षीय समझदारीको मुद्दा भारतले चिनियाँ प्राथमिकता ठान्छ ।

भारतको दृष्टिभ्रम त्यहाँबाट सुरु हुन्छ, जब १६ बुँदे समझदारीको पत्रमा भारतीय कलम, मसी या टेबुल कुनै पनि सामग्रीको प्रयोग हुँदैन । संविधान स्वतन्त्र संविधानसभाले जारी गर्छ, भारतीय सहजीकरणबिनै ।

आशंका झन् बढ्छ । ओली र प्रचण्ड मिलेर सरकार बनाउँछन्, भारतीय नाकाबन्दीको डटेर सामना गर्छन्, त्यसले दिल्लीको दृष्टिमा थप धमिलो थपिन्छ । ‘चिनियाँ सहयोगबिना दुई बाम नत्र कसरी एक ठाउँमा उभिन सक्छन्’ भन्ने मनको बाघले भारतलाई खाइरहेको छ । गएको निर्वाचनको मुखैमा दुई ठूला बाम शक्ति एक ठाउँमा उभिएर साझा घोषणापत्र जारी गर्छन्, पार्टी एकता हुने घोषणा गर्छन्, साउथ ब्लकका अधिकारीको मुटुमा अर्को ढुंग्रो ठोकिन्छ ।

चीनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङमा भव्य स्वागत गर्छ, ओली भ्रमणका लागि प्रतीक्षारत रहेको र चिनियाँ राष्ट्रपतिले चाँडै बुद्धभूमिमा पाइला टेक्न चाहेको सन्देश दिन्छ । यसले भारतलाई थप बेचैन बनाउँछ । तत्काल मोदीको काठमाडौँ यात्रा तय हुन्छ ।

मोदी काठमाडौँमै आएर भन्छन्, जे गर्नु छ हामी गरिहाल्छौँ नि । जे माग्नु छु, हामीसँगै माग । काठमाडौँसम्मै रेल हामी कुदाइदिन्छौँ । झलमल्ल बिजुली हामी बालिदिन्छौँ । पानी जहाज चलाउन मन लागे कोशी हुँदै गंगामा चलाऊ । तर, चीनतिर ढल्किनु पर्दैन । चीनसँगको हिमचिम बढाउनु पर्दैन । आदि, इत्यादि ।

लुम्बिनी पुग्ने चिनियाँ रेलमा लालसेना हतियारसहित आइपुग्ने ठानेको छ भारतले । बुढीगण्डकी बीआरआईको खाकाभित्र राख्न खोज्दा कसरी खोसियो र नेपाल आफैले बनाउने भनेर कहिल्यै नबन्ने आयोजनामा परिणत गरियो, भारत—समर्थित गठबन्धन सरकार रहेका बेला ।

चीनसँगको पारवहन सन्धि कार्यान्वयन हुँदा भारतसँगको एकल वाणिज्य तथा पारवहन निर्भरता अवश्य तोडिनेछ । तर, नेपालले पनि के ख्याल गर्नुपर्छ भने भारतसँगको निर्भरता कम हुनु अवश्य जरुरी छ । भारतसँगको एकल निर्भरतामा क्रमभंग हुनैपर्छ । तर, चीनसँग सहकार्य गर्दा पनि परनिर्भरताको विविधिकरण मात्र हुने गरी होइन, द्विपक्षीय व्यापारको कोणबाट गरिनुपर्छ ।

भारतसँग एकाध अर्बको उधारो सहायताका निम्ति चीनसँग पुर्पुरो कन्याउने होइन, व्यापारिक ‘डिल’ हुनुपर्छ । यसले मात्र हाम्रो हैसियत स्वतन्त्र हुनेछ, स्वाधीन हुनेछ । होइन भने हामीले हाम्रो कुरा गर्दा चीनले भारतीय ठान्नेछ, भारतले चिनियाँ ठानिरहनेछ । तसर्थ, मोदीको माधुर्यमा अल्झिने होइन । यो त उनको चातुर्य मात्र हो ।

हामीले हाम्रै पनको विकास गर्नुपर्छ । दुवैको सहयोग र साझदारीमा हाम्रा आफ्नै प्राथमिकताका साथ अगाडि बढ्नुपर्छ, दुवैतिरको विश्वास र सद्भावको सदुपयोग गर्दै । दृष्टि न्युजका लागी विशाल छेत्रीले लेखेको लेख ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com