Flash

सोमवार, असोज २३, : मुलुकमा अकस्मात विकसित राजनीतिक धु्रवीकरणले उत्साहसँगै आशंका पनि जन्मिन थालेको छ । एकातिर दलहरू चुनावी तालमेल गरेर एकले अर्कोलाई कडा टक्कर दिने तयारी गर्दैछन् भने अर्कोतर्फ चुनाव नै नहुने हो कि भनेर संशय पनि प्रकट गर्न थालेका छन् । तीन चरणमै भए पनि स्थानीय निकाय निर्वाचनले मुलुकको राजनीतिमा नयाँ उत्साह सिर्जना गरेको थियो । अब मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावले संविधान पूर्ण कार्यान्वयन हुँदै संस्थागततर्फ बढिरहँदा आशंका जन्मिनु शुभसंकेत होइन ।

यसले संस्थागत हुँदै गएको राजनीतिक उपलब्धि गुम्ने जोखिम बढाउँछ । त्यसकारण यतिबेला चुनावबाहेक अर्को विकल्प छैन । यसको सफलतासँगै नयाँ संविधान र मुलुकको राजनीतिक भविष्य निर्भर भएकाले सबै चुनावमै केन्द्रित हुनुपर्छ ।

संवैधानिक व्यवस्थाअुनसार ७ माघभित्र तीन तहको निर्वाचन हुनुपर्छ । अहिले भएको संसद्को आयु कात्तिक ४ मा सकिँदैछ । त्यसपछि एक प्रकारको राजनीतिक र संवैधानिक रिक्तता हुनेछ ।

त्यसबेला कदाचित सरकारले चुनावको तिथि सार्यो भने त्यसमाथि प्रश्न गर्ने वा सच्याउने संवैधानिक बाटो बन्द हुनेछ । वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमै केन्द्रित हुन आग्रह गर्नुले कतै न कतै शंका छ भन्ने देखिन्छ । त्यसो त कांग्रेसले पनि लोकतान्त्रिक मोर्चाबन्दी गरेर चुनावमा जाने तयारी गरेको छ । तर वाम गठबन्धन कसिलो हुँदै जाँदा चुनावी परिणाम प्रतिकूल हुने अनुमानका आधारमा देउवा कतै चुनावबाट विमुख हुने त होइनन् ? आशंका मिश्रित प्रश्न खडा भएका छन् । यस्तो संशय निवारण गर्दै सरकारले सबैलाई निर्वाचन हुने विषयमा आश्वस्त पार्न सक्नुपर्छ ।

यतिबेला चुनाव मात्रै हाम्रो लागि उपयुक्त विकल्प हो । त्यसकारण दायाँबायाँ सोच्नु मुलुकको राजनीतिक भविष्यको दृष्टिले प्रत्युत्पादक हुनेछ । उसै त नेपाली राजनीति घरेलु शक्तिहरूका हातबाट फुत्किँदै गएको छ । यहाँ हुने राजनीतिक घटनाक्रममा कहीं न कहीं छिमेकीहरू र अन्य शक्तिराष्ट्रहरूका प्रभाव र चासो बढ्दै गएको छ । शक्ति राष्ट्रहरूको सामरिक र रणनीतिक चासोमा पिसिने कि संवैधानिक÷राजनीतिक स्थायित्वसहित अघि बढ्ने भन्ने प्रश्न हाम्रासामु खडा भएको छ । यसर्थ पनि राजनीतिक नेतृत्व सचेत हुन आवश्यक छ ।

यतिबेला चुनावमा हुन सक्ने सम्भावित परिणामबाट भयभीत हुने होइन । लोकतान्त्रिक पद्धतिमा जनताले आफ्नो अभिमत प्रकट गर्ने माध्यम चुनाव हो । यो पद्धतिको ठूलो आधारस्तम्भ नै चुनाव हो । स्वच्छ र निष्पक्ष चुनावको नतिजा स्विकार्नुको विकल्प छैन । लोकतान्त्रिक संस्कार र पद्धति विकासको नेतृत्व लिएका दलहरूले पद्धतिमा विश्वास गर्नुपर्छ, परिणाम आकलन गरेर हतास हुने होइन । पटकपटक राजनीतिक आन्दोलन गर्दै लोकतन्त्रको लागि लडेका दललाई यो सुहाउने प्रवृत्ति होइन।

लामो संघर्ष र बलिदानपछि मुलुकले अहिलेको राजनीतिक उपलब्धि प्राप्त गरेको छ । संघर्ष गर्ने, उपलब्धि हासिल हुने र फेरि गुम्ने गोलचक्करपछि मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेको छ । संक्रमण अझै छ तर स्थानीय निकाय हुँदै प्रदेश र केन्द्रको चुनाव सम्पन्न हुन सके नयाँ संविधानको पूर्ण र संस्थागत कार्यान्वयनको चरणमा मुलुक अगाडि बढ्नेछ ।

यो संवेदनशील अवस्थामा राजनीति अघि बढिरहँदा प्रमुख शक्तिहरू धु्रवीकृत भएका छन् । चुनावी तालमेल वा एकता नै भए पनि त्यसलाई लोकतन्त्रभित्रकै अभ्यास मानेर दलहरू अघि बढ्नुको विकल्प छैन । सत्ता, हारजित वा इगोलाई केन्द्रमा राखियो भने राजनीतिक स्थायित्व, विकास र समृद्धिको ढोका खुल्ने जुन सम्भावना यतिबेला देखिएको छ, त्यो त गुम्छ नै, सँगसँगै फेरि अतिवाद र प्रतिगमनले टाउको उठाउने अवसर पाउनेछ । यसतर्फ गम्भीर हुँदै चुनावमा होमिनुको विकल्प छैन।

Published date : 2017-10-24

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon