Flash

काठमाण्डु, १३ भदौ – उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।

जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्‍याए–नपुर्‍याएकोबारे केही खुलेको छैन ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरपुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।

मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।

Published date : 2017-08-29

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon