Flash

म्याग्दी, १२ फागुन ।  म्याग्दीका स्थानीय तहमा आवश्यकताअनुसार बजेट उपलब्ध नभएपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताले समयमै तलब पाउन सकेका छैनन् ।

अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि पर्याप्त बजेट नपठाएको, पठाएको पनि कोष तथा लेखानियन्त्रकको कार्यालयले अख्तियारी नदिएको र अपुग बजेट कसरी जुटाउने भन्ने विषयमा समन्वयको अभावमा समस्या सिर्जना भएको हो । अन्नपूर्ण गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्थ मन्त्रालयले पठाएको बजेट नपुगे पनि अन्य स्रोतबाट व्यवस्थापन गरेर दोस्रो चौमासिकको फागुनसम्मको शिक्षक कर्मचारीको तलब निकासा गर्ने निर्णय गरेको छ ।

दोस्रो चौमासिकको पूरा तलब निकाशा गर्ने र अपुग बजेटका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं २ का अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । अन्नपूर्णमा कार्यरत ३०२ जना शिक्षकले पहिलो चौमासिकको समेत पूरा तलब पाउनसकेका छैनन् ।

यसैगरी बेनी नगरपालिकाले दोस्रो चौमासिकको मंसिर र पुस महिनाको मात्र तलब निकासा गरेको छ । शिक्षकको तलबका लागि वार्षिक रु १६ करोड बजेट आवश्यक पर्नेमा अर्थ मन्त्रालयले रु १२ करोड पठाएको थियो भने रु आठ करोड मात्र निकासा भएको छ ।

निकासा भएको रु आठ करोडमध्ये रु पाँच करोड ८५ लाख पहिलो चौमासिकमा वितरण गरिएको र दोस्रो चौमासिकमा दुई महिनाको रु दुई करोड ६४ लाख वितरण गरेको र थप बजेटको पहल गरेको बेनपाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो । बेनपाका विद्यालयमा पाँच सय ५४ जना शिक्षक कार्यरत छन् ।

रघुगंगा गाउँपालिकाले अझै दोस्रो चौमासिकको तलब निकासा गर्न सकेको छैन् । जति, पुग्छ त्यति तलब एक, दुई दिनमा विद्यालयको खातामा निकासा गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागार्इंले बताउनुभयो । रघुगंगाका विद्यालयमा दुई सय ७८ शिक्षक कार्यरत छन् ।

धौलागिरि, मालीका र मंगला गाउँपालिकाले पनि पहिलो र दोस्रो चौमासिकको तलब खाए पनि तेस्रो चौमासिकका लागि आवश्यक पर्ने बजेट अपुग भएको जनाएका छन् । शिक्षक संगठनका प्रतिनिधिले समयमै तलब खुवाउन नसकेको भन्दै स्थानीय तहमा दबाब दिन थालेका छन् ।

Published date : 2018-02-24

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon