आइतबार २२ मंसिर २०८२

असार–१२, अर्घाखाँची –
अर्घाखाँचीको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ऐतिहाँसिक लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्ने घोषणा गर्नुभएको छ । करिब २१ रोपनी जग्गा अतिक्रमित भई १ दशमलव ५ रोपनीमा सिमित भएको सरोकारवालाले गुनासो गरेपछि नगरप्रमुख श्रेष्ठले जग्गा फिर्ता गरेरै छाड्ने प्रतिवद्धता गर्नुभएको हो ।

श्री ३ जगं बहादुर राणाको जन्मस्थल लामपाटी दरबारको संरक्षण र प्रबद्र्धनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले उठाएका सवालको जवाफ सहितको सम्बोधनको क्रममा उहाँले यस्तो वचन दिनुभएको हो । रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बिहिबार लामपाटी दरबार परिसरमै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले ऐतिहाँसिक सम्पदाको अतिक्रमित जग्गा स्वतह स्फूर्त फिर्ता गर्न आग्रह समेत गर्नुभएको छ । यदि जग्गा फिर्ता नगरे कानुनी प्रक्रिया मार्फत भएपनि जग्गा फिर्ता गराएरै छाड्ने उहाँको जिकिर छ । जगं बहादुर राणाको जन्मस्थल मथुरा क्षेत्रलाई पर्यटकिय हब बनाउन आफुले सक्दो भूमिका खेल्ने नगरप्रमुख श्रेष्ठको धारणा छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका निवर्तमान प्रमुख पिताम्बर शर्मा भुसालले जगं बहादुर राणाको जन्म स्थल मथुराको महत्व राज्यले बझ्न नसकेको गुनासो गर्नुभएको छ । लामपाटी दरबार जस्ता ऐतिहाँसिक क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै पर्यटकिय स्थलको रुपमा विकास गर्नुपर्नेमा राज्यले प्रयाप्त ध्यान दिन नसक्दा जग्गा समेत हराउँदै गएको उहाँको तर्क छ । “ऐतिहाँसिक सम्पदा लामपाटीको जग्गा अतिक्रमण भएको छ ।” भुसालले भन्नुभयो,“जग्गा फिर्ताको लागि राज्यले तत्काल कदम चाल्नुपर्छ ।”

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जिल्लाका ऐतिहाँसिक क्षेत्रको संरक्षण र एकिकृत विकासको योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । अर्घाखाँचीका ६ वटै पालिकामा रहेका ऐतिहाँसिक सम्पदालाई पर्यटन व्यवसायसंग जोडेर अगाडि बढ्न ढिला गर्न नहुने उहाँहरुको तर्क छ ।

सन्धिखर्क नगरपालिकाका निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसालले ऐतिहाँसिक स्मृति, सामाजिक परम्परा र सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्यको भूमिका गम्भिर र जवाफदेहि हुनुपर्ने बताउनु भएको छ । जिल्लामा रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र विकासको निम्ती स्थानिय सरकारले डि.पि.आर.गरेर काम अगाडि बढाउन उहाँको सुझाव छ । योजनाबद्ध विकासमा राज्यको जिम्मेवारी र स्थानियको अपनत्व हुनुपर्ने भुसालको तर्क छ ।

छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थीले ऐतिहाँसिक सम्पदाको उपयोगले सांस्कृतिक संरक्षण, पर्यटन विकास र रोजगारीसंग जोड्दै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउनुभएको छ । एतिहाँसिक सम्पदाको संरक्षण र प्रबद्र्धनका लागि दिर्घकालिन योजना बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेस अर्घाखाँचीका उप–सभापति बिष्णु प्रसाद भुसालले अर्घाखाँचीमा लुकेर रहेका ऐतिहाँसिक सम्पदालाई जिल्लाको गौरव र आर्थिक समृद्धिसंग जोडेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेका नेता जनार्दन खनालले ऐतिहाँसिक, सांस्कृति र शैक्षिक सम्पदाहरु विगतका चिनारी मात्र नभई वर्तमान र भविष्यको निम्ती प्रेरणा र पहिचानका आधार भएको बताउनुभएको छ । “मानव जीवन र सम्पदाबिच गहिरो सम्बन्ध छ ।” नेता खनालले भन्नुभयो, “यस्ता सम्पदाहरुले हाम्रो इतिहाँस बोल्छन् र भावी पुस्ताको मार्गदर्शन समेत गर्दछन् ।” जगंबहादुरको जन्मस्थल मथुरामा असार ७ गते र न्वरान भएको स्थल बल्कोटमा असार १७ गते हरेक बर्ष बिशेष कार्यक्रम गरेर ऐतिहाँसिक स्थलको प्रचार–प्रसार गर्न उहाँको सुझाव छ ।

बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले ऐतिहाँसिक सम्पदाक्षेत्रको जग्गा १ दशमलव ५ रोपनीमा सिमित कसरी भयो ? प्रश्न गर्दै ऐतिहाँसिक सम्पदा संरक्षणमा सम्बन्धित निकायले चाँसो नदिए जनस्तरबाटै प्रतिवाद गर्ने उद्घोष गर्नुभयो । राज्यले सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न नसक्दा अतिक्रमण र ओझेलमा परेको भन्दै छत्रदेव–२ का निवर्तमान अध्यक्ष समेत रहनुभएका पन्थीले बल्कोट पौवाको मुहार फेरिदै गर्दा जगंबहादुरको जन्मस्थल लामपाटी ओझेलमा पर्नु दुःखद भएको बताउनुभएको छ ।

सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले ऐतिहाँसिक सम्पदाको जग्गा खुम्चिदै जानु चिन्ताको बिषय भएको बताउनुभयो । यस्ता सम्पदाको संरक्षण र प्रबद्र्धन गर्न सके व्यवसायिक पर्यटनको विकास र रोजगारीको सिर्जना हुने बताउनुभएको छ ।

कार्यक्रममा स्थानिय अगुवा मित्रलाल पाण्डे, गोपेश्वर पिठका अध्यक्ष ढुन्डीराज अधिकारी, गोपेश्वर पिठका मुल पुजारी गोकुल पौडेल, स्थानिय सरोकारवाला इश्वरी खनाल, छन्द प्रसाद भुसाल लगायतले बोल्दै जगं बहादुरको सम्मानमा लामपाटी दरबारको मुलगेटमा शालिक निर्माण गर्नुपर्ने, ऐतिहाँसिक सम्पदाको प्राचिन शैलीमै मर्मत संभार गरिनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको छ ।

आयोजक रिपोर्टस क्लब लम्बिनीका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षता र पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका प्रध्यापक माधवराज चुँदालीले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।


Last Updated on: June 26th, 2025 at 8:50 pm
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया