Flash

ताप्लेजुङ, ९ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वरुप रु २० हजार पाउने भएका छन् ।

आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कम्तीमा दुई वटा गाई पालेका कृषकलाई गोठ सुधारका लागि रु १५ हजार र दानापानीका लागि रु पाँच हजार गरी रु २० हजार नगदै प्रोत्साहनस्वरुप दिने कार्यविधि बनाइएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । यसका लागि रु १० लाख बजेट छुट्याइएको छ ।

उक्त प्रोत्साहन रकम वडा नम्बर १ र ७ देखि बाहेकका वडाका कृषकले मात्रै पाउने कडरियाले बताउनुभयो । यी दुई वटा वडाले पहिलेदेखि नै पशु स्वास्थ्य कार्यालयबाट गोठ सुधारकै लागि छुट्टै रकम पाउँदै आएकाले गाउँपालिका स्तरबाट नपाउने भएका हुन् ।

प्रोत्साहन रकम लिनका लागि कृषकले दैनिक सात लिटर दूध उत्पादन गरेको हुनुपर्नेलगायतका नियम बनाइएको छ भने नियम पालना भए÷नभएको अनुगमनसमेत गरिने भएको छ । यसरी प्रदान गरिने रकम गाईको स्याहारदेखि बाहेकका काममा खर्च गर्न नपाउने प्रावधानसहित वितरण गर्ने तयारी भएको हो । एक वडामा बढीमा १० जना सक्रिय कृषकलाई छनोट गरी वितरण गरिने बताइएको छ ।

पशुपालनका हिसाबले जिल्लाका अन्य क्षेत्रको तुलनामा सिदिङवा गाउँपालिका निक्कै अघि रहे पनि पछिल्लो समयमा पछि पर्दै गए पछि यस्तो नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा पर्ने साविकका सुरुम्खीम, कालीखोला र सादेवा गाविसमा अन्य क्षेत्रको तुलनामा बढी गाईगोठ रहेको बताइन्छ । गाईपालक कृषकलाई प्रोत्साहन दिने निधो भएसँगै यस गाउँपालिकामा दूध उत्पादन बढ्ने र किसानको पनि आम्दानी बढ्न सक्ने गाउँपालिकाको विश्वास छ । (रासस)

Published date : 2018-06-23

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon