Flash

उहाँहरुले पेलेर लानुभयो भने दुई बर्षपछि त महाधिवेशन छँदैछ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गगन थापा पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न मात्र होइन, पार्टी र राष्ट्रिय मुद्दाहरुमा खरो टिप्पणी गर्ने नेता मानिन्छन् ।

यही नेतृत्वबाट कांग्रेस सशक्त पार्टी बन्ला र ?

कतिपयलाई तीतो लाग्न सक्छ, पार्टी नेतृत्वमा यिनै बासी अनुहारहरु भएमा जनतासँग टुटेको जुन समबन्ध छ, त्यो जोडिँदैन ।

हाम्रा केही साथीहरु नेतृत्व भनेको उमेरले हुँदैन, एजेन्डा चाहिन्छ भनिरहेका छन् । यसमा दुईमत छैन । तर, नेतृत्व भनेको रातारात बन्ने पनि होइन । एकपटक नेतृत्वका बारेमा बनेको धारणा रातारात बदलिने पनि होइन ।

कांग्रेसका मुख्य मुख्य नेताहरुका बारेमा आमजनताले जस्तो धारणा बनाएका छन्, त्यो हामीले बनाईदिएको होइन । त्यो धारणा अब बन्यो, बन्यो । त्यसैले यस्तो अप्ठ्यारो बेलामा यही नेतृत्वले कांग्रेसलाई माथि उठाउन सक्दैन ।

यो कठोर कुरा होला तर, यसलाई कांग्रेसजनले मान्नै पर्छ । होइन हामी आफ्नै नाफा-घाटाको हिसाब गरेर बस्ने हो भने बेग्लै कुरा हो

यसपटकको निर्वाचनमा एमालेले पाएको कुल मतभन्दा ४० हजार मत मात्र कांग्रेसले कम पाएको, यसमा आत्तिनुपर्ने कुरा केही छैन भन्छ त तपाईंको नेतृत्व । कुनै टिप्पणी ?

हामीले एमालेको भन्दा ४० हजार मत कम पाएको होइन । हामीले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भन्दा २२ सिट बढी पाएका हौं । आजका दिनमा नेपाली कांग्रेस पार्टी भनेको नेमकिपाभन्दा २२ सिट बढी भएको पार्टी हो ।

पार्टी नयाँ पुस्तामा कसरी हस्तान्तरण होला त ?

हाम्रा नेताहरुमा अझ पनि डर, लोभ र हिचकिचाहट देखिन्छ । यसविरुद्ध हामी बोल्नैपर्छ । उहाँहरुलाई आदर गरौं, मान सम्मान गरौं तर, पार्टीको मूल्यमा होइन ।
म पुस्ताको कुरा गर्दिनँ । कांग्रेसभित्र एउटा उमेरको नेता काबिल, अर्को उमेरको नेता बेकाबिल भन्ने कुरा न वैज्ञानिक हुन्छ, न त त्यसले हामीलाई कहीँ पुर्याउँछ ।

हाम्रो पार्टीभित्र नेताहरुको यस्तो समूह छ, जो २०४६ सालदेखि पार्टीको मुख्य मुख्य स्थानमा हुनुहुन्छ । सरकारमा बसेर काम गर्न पाउनुभएको छ । उहाँहरु ‘एक्जहस्टेड’ हुनुहुन्छ, थाकिसक्नुभएको छ । उहाँहरु ‘एक्सपोस्ज्ड’ पनि भइसक्नुभएको छ । उहाँहरुको सीमा जनतालाई थाहा छ ।

जतिसुकै लोलोपोतो गरे पनि अब हामी नयाँ रङ लगाइदिन सक्दैनौँ । फेरि पनि हामीले उहाँहरुलाई नै जिम्मेवारी दिन थाल्यौँ भने पार्टी त जसोतसो चल्ला तर जनतासँग बढेको दूरी मेटिँदैन ।

तपाईं स्वमंले पनि पार्टीको नेतृत्वको दाबी गरिरहनुभएको छ, होइन ?

हामीले माहौल बनाउन खोजिरहेका छौँ । हामीले हाम्रो ‘स्टेटमेन्ट’ भनिरहेका हौँ । उहाँहरुलाई पार्टीको नेतृत्व पंक्तिबाट छोडाउने अब हाम्रो कोसिस हुन्छ नै । अहिले पार्टी सभापतिलगायत वरिष्ठ नेताहरु जो जो हुनुहन्छ, उहाँहरुलाई अब तपाईंहरु पार्टीको नेतृत्व पंक्तिमा रहिरहनु हुँदेन भनेर विनीत भएर आग्रह गरिरहेका छौँ । यसका लागि मैले आफूले सक्ने सबै काम गर्छु भनेको हो ।

नेतृत्वलाई यसरी चुनौती दिनेको संख्या पार्टीमा कति नै छ र ?

हो, यो संख्या थोरै भयो भने यही नेतृत्व रहिरहनुहुन्छ, पार्टीलाई थप क्षति हुन्छ । अब अरु साथी पनि यसका लागि तयार हुने कि नहुने भन्ने प्रश्न मुख्य हो । निवेदन दिएर वा मागेर हुने कुरै होइन यो ।

पार्टी नेतृत्वमा रहेकाहरुलाई अब अभिभावकका रुपमा बस्नूस् भनेर भन्ने बेला आयो । उहाँहरुलाई ‘ग्रेसफुल एक्जिट’ नै गरौँ, चाहे त्यो विशेष महाधिवेशनबाट होस् । त्यहाँ उहाँहरुले पेलेर लानुभयो भने आगामी दुईबर्षपछि त महाधिवेशन छँदैछ ।नेपाल साप्ताहिक बाट

Published date : 2018-02-18

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon